बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
सुर्नया गाउँपालिका वडा नं २ का वडा सदस्य एवं गाउँसभा सदस्य दानसिंह ऐरीको यही वैशाख ११ गते असमायिक निधन भएकाले शोक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
वडा सदस्य ऐरीको अकल्पनिय निधनले गाउँपालिका परिवार स्तब्ध भएको जनाइएको छ । आज गाउँपालिकाभित्रका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतमा शोक बिदा दिइएको उल्लेख गरिएको छ ।
आफ्नै घरमा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएका वडा सदस्य ऐरीको उपचारको क्रममा वैशाख ११ गते निधन भएको थियो ।
वैशाख गते बुधबार राति भरुवा बन्दुकको छर्रा लागेर वडा सदस्य ऐरी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि धनगढी लगिएको भएपनि शुक्रबार उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
ऐरी २०७९ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।





