बैतडी – सुदूरपश्चिमका युवा साहित्यकार हेमबाबु लेखकलाई भारतको राजधानी नयाँदिल्लीमा सम्मानित गरिएको छ ।
भाषा, साहित्य, संस्कृतिका माध्यमबाट नेपाल र भारतको मित्रवत सम्बन्धलाई प्रगाढ बनाउन उल्लेखनीय योगदान पु¥याएकोमा उनलाई ‘भारत–नेपाल मैत्री सम्मान’ प्रदान गरिएको आयोजकले जनाएको छ ।
भारतको राजधानी नयाँदिल्लीस्थित दिल्ली विश्वविद्यालयमा लेखक सम्मानित भएका हुन् ।
केही दिन पहिला दिल्ली विश्वविद्यालयअन्तर्गत हंसराज कलेजमा आयोजित विविध साहित्यिक कार्यक्रममा उनलाई प्रशंसापत्रसहित सम्मानित गरिएको हो । भारतमा प्रतिष्ठित रहेको सुर साहित्य परिषदद्वारा आयोजित कार्यक्रममा लेखकलाई बरिष्ठ साहित्यकार डा.सन्यज जैन, नयन निरज नायाब, डा. उर्वी उदल, ज्ञानेन्द्र प्रयागी र मोडल ज्योति झुल्का, डा. राजरानी भल्लाले सम्मानित गरेका थिए ।
साहित्यकार लेखक लामो समयदेखि काली–कर्णाली र भारतको कुमाउ (मानसखण्ड) क्षेत्रको भाषा, कला, संस्कृति र लोकसाहित्य संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा निरन्तर गोष्ठी, सम्मेलनहरु आयोजना गर्दै आइरहेका छन् ।
दुई दशकदेखि निरन्तर लेखनमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
भारतमा सम्मानित भएपछि लेखकले संस्कृतिको सीमा नहुने बताएका छन् । नेपाल र भारतबीच सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएकाले यसले दुवै देशका नागरिकलाई एकआपसमा बाँधेको बताए ।





