Sagun Khabar
सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना, सतर्कता अपनाउन आग्रह 
सांकेतिक तस्बिर

बैतडी –आज सुदूरपश्चिमसहित चारओटा प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भवना रहेको मौसम विज्ञान विभागले जनाएको छ । 

सुदूरपश्चिमसहित कोशी, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने अनुमाग गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने मौसम विज्ञान विभागले जनाएको छ । तीव्र गतिको हावाहुरी चल्ने सम्भवना रहेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले आग्रह गरेका छन् । 

मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ । 

हावाहुरी आज बेलुका पौने ६ बजेदेखि हुरी चल्न शुरु हुने र भोलि बिहीबार बिहान पौने ७ बजेसम्म रहने अनुमान छ । यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज हावाहुरी चल्ने सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

तीव्र हावाहुरीका कारण रुख तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम हुन्छ । प्राधिकरणले तोकिएका ठाउँ र समय अवधिमा सावधानी अपनाउन अनुरोध गरेको हो । हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न प्राधिकरणको सुझाव छ । 

यस्तै, जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउन पनि भनिएको छ । घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ । 

उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहन तथा मौसम विज्ञान विभागबाट बेलाबेलामा आउने मौसमसम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित रूपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन भनिएको छ ।   
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update