Sagun Khabar
बैतडीमा घरमै राहदानी पुर्याइने, जिल्ला प्रशासन र हुलाक कार्यालयबीच सम्झौता 

बैतडी–बैतडीमा नागरिकको घरमै राहदानी पुर्याइने भएको छ । राहदानी बनाउने नागरिकको इच्छा अनुसार घरमै राहदानी अर्थात पासपोर्ट पुर्याउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच मंगलबार सम्झौता भएको बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए । 

नयाँ राहदानी बनाउने नागरिकका लागि यो सम्झौता लागू हुने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । राहदानी बनाउनका लागि फारम भर्ने बेलामै घरमै राहदानी लिन चाहने नागरिकले जिल्ला हुलाक कार्यालयलाई ५५ रुपैयाँ शुल्क तिर्नुपर्ने र उनीहरुको घरमै राहदानी पुग्ने बताइएको छ । 

नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले घरमै राहदानी पुर्याउनका लागि सम्झौता भएको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाशबहादुर कार्कीले बताए । जिल्ला प्रशासनमा कार्यालयमा राहदानी प्राप्त भएपछि सम्बन्धित व्यक्तिकै घरमा राहदानी पुर्याइने कार्कीले बताए । 

राहदानीका लागि फारम भर्ने बेलामै घरमै राहदानी चाहिने नागरिकले छुट्टै फारम भरेर ५५ रुपैयाँ शुल्क तिर्ने र त्यसपछि हुलाक कार्यालयले राहदानीलाई हुलाक वस्तुका रुपमा घरमै पुर्याउने जिल्ला हुलाक कार्यालयका प्रमुख कार्कीले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update