Sagun Khabar
डिलाशैनी गाउँपालिकाको ब्याकहो लोडरमा प्रयोग गरेको नम्बर नै नक्कली !

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले प्रयोग गरिरहेको ब्याकहो लोडरको नम्बर नै नक्कली रहेको पाइएको छ । 

गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० मा ५४ लाखमा खरीद गरेको ब्याकहो लोडरमा प्रयोग गरेको सेतो प्लेट नम्बर नक्कली रहेको पाइएको हो । गाउँपालिकाले बा.प्र.०१–००४ क १२१६ नम्बरको सेतो प्लेट ब्याकहो लोडरमा राखेको छ । तर उक्त नम्बर यातायात कार्यालयमा दर्ता नभएको पाइएको छ । 

गाउँपालिकाले प्रयोग गरिरहेको ब्याकहो लोडर सम्बन्धित निकायमा दर्ता नभएको पाइएपछि अहिले प्रयोगमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले बताए । उनले भने, ‘ब्याकहो लोडर नवीकरणका लागि यातायात कार्यालय डडेल्धुरा पुग्दा दर्ता भएको पाइएन् । त्यसपछि मैले उक्त मेसिन प्रयोगमा रोक लगाएको छु । यो बिषयमा पहिलाका कार्यालय प्रमुखहरुलाई सोधपुछ गरेको छु । तर केही जवाफ आएको छैन् । यातायात कार्यालयले एक पटक काठमाण्डौं गएर बुझ्न भनेको छ । यसैका लागि काठमाण्डौं जाने तयारी गरिरहेको छु ।’

दर्ता नै नगरिएको उक्त ब्याकहो लोडरमा तीन बर्षसम्म गाउँपालिकाले इन्धन र मर्मत बाफत लाखौं रुपैयाँ खर्च गरेको छ । नक्कली सेतो नम्बर प्लेट प्रयोग गरेर फर्जी काम गरेको भन्दै गाउँपालिकाको व्यापक आलोचना भइरहेको छ । 

यातायात कार्यालयले यातायातमा दर्ता नगरी गाडीमा सेतो नम्बर प्लेट हाल्नु फर्जी काम भएको जनाएको छ । यस्तो कार्य गर्नेलाई कारवाहीको समेत व्यवस्था गरिएको छ । 

‘दर्ताको प्रमाणपत्रमा उल्लिखित वास्तविक नम्बर प्लेट नराखी अर्कै नम्बर प्लेट राखी सवारी चलाउने वा चलाउन लगाउने वा गलत विवरण पेश गरी दर्ता गराउनेलाई अधिकार प्राप्त अधिकारीले १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा सवारी जफत गर्न सक्ने छ,’ सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७९ को दफा १८१ को उपदफा १ मा भनिएको छ । 

यो बिषयमा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीलाई सोध्दा आफूले एक महिना पहिला यो बिषयमा थाहा पाएको र बुझ्ने काम भइरहेको बताए । ब्याकहो लोडर खरीद गर्दाको समयका कार्यालय प्रमुख र सम्बन्धित फाँट प्रमुखसँग यो बिषयमा बुझ्ने काम गरिरहेको उनले बताए । 

अहिलेका कार्यालय प्रमुख शंकरबहादुर साउँदले ब्याकहो लोडर दर्ता नभएको बिषयमा जानकारी गराएपछि आफूलाई थाहा भएको उनले बताए । कार्यालयमा खरीद हुने सामग्री दर्ता गर्ने लगायतका सम्पूर्ण कामहरु कर्मचारीको हुने भएकाले यसमा संलग्नहरुको खोजी हुने अध्यक्ष जोशीले बताए । यो बिषयमा दोषी देखिएकाहरुलाई कानुन अनुसार कारवाही हुने समेत उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update