बैतडी–अनमीमाथि कुटपिट गर्ने बैतडीको पुर्चौडी नगरपालिका –७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन् । लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई गएको चैत २२ गते धनगढी–१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए । भट्टले लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी थिइन् ।
कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको थियो । लुहारले इट्टाले भट्टको टाउको र हातमा प्रहार गरेका थिए ।
कुटपिट लगत्तै पक्राउ परेका लुहारलाई कैलाली प्रहरीको हिरासतमा राखिएको थियो । लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुद्दा गरेको र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए । सोही आदेश अनुुसार लुहारलाई कारागार चलान गरिएको उनले बताए ।
कोटिला स्वास्थ्यचौकीमै कार्यरत महरा थरका सहकर्मीसँग फोनमा कुराकानी गरेको भन्दै लुहारले भट्टसँग धनगढी आएर विवाद गरेको पीडित भट्टले बताएकी थिइन् ।
भट्टले फोन गरेको कल डिटेल हेर्ने भन्दै लुहारले नागरिकता मागेका थिए । भट्टले नागरिकता नदिएपछि उनीमाथि इट्टा प्रहार गर्दै कुटपिट गरिएको भट्ट स्वयंले मिडियामा बोलेकी छन् ।





