बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा महिलाहरुका लागि प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ग्लोबल आइएमइ बैंकको स्वस्थ नारी पहल कार्यक्रम अन्तर्गत दोगडाकेदार गाउँपालिकाको समन्वयमा आयोजना गरिएको शिविरमा नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरको प्राविधिक सहयोग रहेको थियो ।
उक्त शिविरमा पाठेघर खसेको महिलाहरुको परीक्षण तथा रिङ पेसरी सेवा, फिस्टुला परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, यौनजन्य रोगको संक्रमण परीक्षण र उपचार सेवा र औषधी वितरण गरिएको नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरका बरिष्ठ शाखा प्रबन्धक वासुदेव बिष्टले बताए ।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई उनीहरुकै ठाउँमा प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले ग्लोबल आइएमइ बैंकसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको बिष्टले बताए । शिविरमा स्थानीय महिलाहरुले सेवा लिएका उनले बताए । शिविरमा १४० जनाले सेवा लिएका छन् ।





