बैतडी–आज दिउँसो पानीसँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
दिउँसो साढे २ बजेतिर आएको हावाहुरीले दोगडाकेदार गाउँपालिका वडा नं ३ कपडास्थित जसलिङ्ग आधारभूत विद्यालय भवनको छानो उडाएको छ । जस्तापाताले छाएको उक्त भवनको छानो उडाएपछि विद्यालयभित्र रहेका विभिन्न शैक्षिक सामग्रीहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
विद्यालय भवनको छानो उडाएपछि अब पठनपाठन कार्यमा समस्या हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त कपाडीले बताए ।
यस्तै सिगास गाउँपालिका वडा नं १ स्थित हरि भट्टको पसलको छानो हावाहुरीले उडाएको प्रहरीले जनाएको छ । पसलको छानो हावाहुरीले उडाएपछि पसलमा रहेका सामग्रीमा क्षति पुगेको बताइएको छ ।
यस्तै पाटन नगरपालिका वडा नं ७ उपल्ला बाटुलामा गजेन्द्र चन्दको घर र गोठमा लगाएको जस्तापाताको छानो हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै दिउँसो पानीसँगै हावाहुरीले मेलौली नगरपालिका–९ स्थित नेपाल टेलिकमको टावरमा क्षति पुर्याएको बताइएको छ ।
हावाहुरीका कारण विद्युतका संरचनाहरुमा क्षति भएकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
विद्युत प्राधिकरणको डडेल्धुरा र बलाँचको ३३ केभी प्रशारण लाइनमा हावाहुरीले क्षति पुर्याएपछि विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । क्षतिको विवरण संकलनको काम र विद्युत सुचारुका लागि प्रयास भइरहेको बैतडी वितरण केन्द्रले जनाएको छ ।
यस्तै हावाहुरीले मेलौली नगरपालिका –२ सलेनामा हरि दमाइको जस्तापाताले छाएको घरको छानो उडाएको छ भने सोही ठाउँका दानबहादुर चन्दको पत्थरले छाएको तीन तले घरको छानो उडाएको प्रहरीले जनाएको छ ।
यस्तै सोही ठाउँका नरबहादुर चन्दको जस्तापाताले छाएको पसलको छानो उडाएको प्रहरीले जनाएको छ ।
यसैगरी मेलौली नगरपालिका–२ सलेनास्थित धर्मघर माविको जस्तापाताले छाएको भवनको छानो हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
यस्तै हावाहुरीले शिवनाथ गाउँपालिका–१ कुस्मौतघाटस्थित सशस्त्र प्रहरीको बिओपी भवनमा पनि क्षति पुर्याएको छ । सशस्त्र प्रहरीका जवान बस्ने ब्यारेक भवनको छानो हावाहुरीले उडाएको प्रहरी निरीक्षक बडूले बताए ।





