बैतडी–बैतडीको सिगास गाउँपालिकाले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा १५ दिनभित्र खाली गर्न आग्रह गरेको छ ।
नेपाल सरकारको नीति अनुसार अतिक्रमण गरिएका जग्गा खाली गर्न आग्रह गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सिगास गाउँपालिका भित्र गाउँपालिकाको सदरमुकाम वरीपरी, सडक छेउछाउ, वडा कार्यालयको छेउछाउ अनधिकृत रुपमा घरछाप्रो तथा पक्की घर निर्माण गरिएकाले १५ दिनभित्र खाली गर्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको हो ।
तोकिएको समयभित्र अतिक्रमित क्षेत्र खाली नगरिए कानुन अनुसार कारवाही हुने गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकाले सार्वजनिक जग्गा र वन क्षेत्र अतिक्रमण नगर्न, जोखिमपूर्ण स्थानमा बसोबास नगर्न, सडक छेउछाउमा अनधिकृत रुपमा घर छाप्रो निर्माण नगर्न र सडकको दायाँबाँया गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन नगर्न आग्रह गरेको छ ।





