बैतडी–सरकारले भूमि समस्या समाधान आयोगका पदाधिकारीहरुलाई पदमुक्त गर्ने निर्णय गरेसँगै बैतडीको पञ्चेश्वर गाउँपालिकाका भूमीहिन सुकुम्बासीहरुलाई लालपूर्जा दिने तयारी रोकिएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वर गाउँपालिकाका २० जना भूमिहीन सुकुम्बासी परिवारलाई लालपूर्जा वितरणको तयारी गरेको थियो । तर आयोगका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय भएसँगै लालपूर्जा वितरणको तयारी रोकिएको हो ।
गाउँपालिकाले प्रमाणीकरण गरेका ५९ जना भूमिहीन सुकुम्बासीमध्ये पहिलो चरणमा २० जनालाई लालपूर्जा वितरणको तयारी भएको थियो ।
भूमिहीन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि जग्गाको बिषयमा हकदाबी पेश गर्न गएको वैशाख १७ गते सात दिने सूचना समेत प्रकाशन गरिएको थियो । सरकारले आयोगका पदाधिकारीहरुलाई पदमुक्त गर्ने निर्णय गरेसँगै सबै प्रक्रियाहरु स्थगित गरिएको नापी कार्यालय बैतडीका प्रमुख विनोद भट्टले बताए ।
सरकारको निर्णयसँगै फिल्डमा खटाइएका प्राविधिक कर्मचारीहरुलाई समेत फिर्ता बोलाइएको छ ।
पञ्चेश्वरमा मात्रै ५९ जना भूमिहीन परिवार रहेका छन् भने चार सयको हाराहारीमा अव्यवस्थित बसोबासी रहेका छन् । जिल्लाभरी ३ हजार बढी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको छ ।





