बैतडी –बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अवस्थामा रहेका छन् । सुकुम्वासीका लागि भनेर सरकारले निर्माण गरेको जनता आवासका कतिपय घरसमेत प्रयोगविहीन अवस्था छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेका करिब ५० वटा सरकारी संरचना प्रयोगविहीन रहेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए । उनले प्रदेश सरकार गठन हुनुअघि नै बनेको संरचना पनि प्रयोगविहीन रहेको बताए । सिगास गाउँपालिकाको गाँजरी इलाका सेवा कार्यालयको भवन १० वर्षदेखि प्रयोगविहीन अवस्था छ । यस्तै सदरमुकामको वृद्धाश्रम, महिला सुरक्षित आवासगृह पनि प्रयोविहीन अवस्थामा छन् । यी भवनहरु प्रयोग नहुँदा जीर्ण समेत बन्दै गएका छन् ।
पाटन नगरपालिकामा मात्रै १४ वटाभन्दा बढी सरकारी संरचना प्रयोगविहीन रहेको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । उनले अनुगमनका क्रममा पाटन नमुना सहरको मनोरञ्जन पार्कका भवन र संचरना, सभा हल, ट्रमा सेन्टर, सहरी स्वास्थ्य क्लिनिक, तरकारी सङ्कलन केन्द्र, चिस्यान केन्द्रलगायतका संरचना प्रयोगविहीन रहेका बताए ।
पछिल्लो समय बैतडीका ११४ वटा सरकारी विद्यालय बन्द हुने अवस्था आएपछि ती भवनसमेत खाली भएका छन् । अधिकांश स्थानीय तहले विद्यालय एकीकरण गरेपछि सरकारी लगानीमा बनेका दर्जनौँ विद्यालयका भौतिक संरचना प्रयोगविहीन बनेका छन् ।
पुर्चौडी नगरपालिका–७, ऐराडीगाउँमा रहेको लटीनाथ आधारभूत विद्यालय बन्द भएपछि तीन वटा भवन प्रयोगविहीन बनेका छन् । सो गाउँको दलित बस्तीका अधिकांश अभिभावक रोजगारीको खोजीमा बालबच्चासहित भारतका बैङ्लुरु, पिथौरागढलगायतका शहर पसेपछि विद्यालय पूर्ण रूपमा बन्द भएको सोही गाउँका शिक्षक दिनेश नागरीले बताए ।
अलपत्र परेका अधिकांश भवन बिनाउद्देश्य बजेट सक्नकै लागि बनेको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको दाबी छ ।
सरकारी लगानीमा जिल्लाभर निर्माण भएर अलपत्र परेका प्रसूतिगृहका भवन, क्याम्पस र स्वास्थ्य संस्थाका भवन प्रयोगमा नआएको उनले बताए ।
बैतडीमा प्रयोगमा नआएर अलपत्र परेका भवनको खोजी कार्य सुरु गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।
उनले मनसुनका बेला सुकुम्वासी र अव्यवस्थित बसोबासी बढी प्रभावित हुने भएकाले खाली भवनको उपयोगिताबारे छलफल गर्ने बताए । गाउँपालिका तथा नगरपालिकाले सङ्कलन गरेको तथ्याङ्क अनुसार बैतडीमा तीन हजारको हाराहारीमा अव्यवस्थित बसोबासी तथा सुकुम्वासी रहेका छन् ।





