Sagun Khabar
पुर्चौंडीमा सशस्त्र प्रहरीको अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना 

बैतडी–बैतडीको पुर्चौंडीमा सशस्त्र प्रहरीले अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरेको छ । पुर्चौंडी नगरपालिका–१ हाटस्थित पुरानो स्वास्थ्यचौकी भवनमा बेश स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए । 

विपद्को समयमा नागरिकलाई सहयोग गर्ने उद्देश्यले सशस्त्र प्रहरीले बेश स्थापना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए । बेशमा १५ जनाको टोली खटिएको छ । 

विपद् उद्धारका सामग्रीसहित खटिएको टोलीले स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीसँग मिलेर काम गर्ने उनले बताए । 

पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र आसपासका क्षेत्रमा मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्का घटनाहरुमा खोज,उद्धार र राहतका लागि सशस्त्र प्रहरीले पुर्चौंडीमा अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरेको हो । 

शुक्रबार एक कार्यक्रमकाबीच अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरिएको हो । उक्त बेशको पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम, उपप्रमुख मीना धानुक, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले उद्दघाटन गरेका थिए । 

यसअघि बैतडी सदरमुकामस्थित छेलमा सशस्त्र प्रहरीले अस्थायी मनसुन प्रतिकार्य बेश स्थापना गरेको थियो । 

मनसुनको समयमा विपद्का घटना हुन सक्ने र त्यस्ता घटनामा प्रभावित भएका परिवारहरुलाई तत्काल सहयोग पुर्याउनका लागि बेश स्थापना गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update