Sagun Khabar
निर्माण व्यवसायी आन्दोलित 

बैतडी –सरकारले मूल्यवृद्धि समायोजन गर्नुपर्ने माग राख्दै निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । देशभरजस्तै बैतडीका निर्माण व्यवसायीहरुले पनि चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरेको निर्माण व्यवसायी संघ बैतडीका महासचिव विकास चन्दले बताए । 

पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण निर्माण काम गर्न असहज भएकाले मूल्यवृद्धि समायोजनको माग राख्दै आन्दोलन गर्नुपरेको महासचिव चन्दले बताए । 

आन्दोलनका कार्यक्रम अनुसार गएको वैशाख ३१ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका निर्माण व्यवसायीहरुले सडक डिभिजन कार्यालय, जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सघन शहरी आयोजना कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । 

यस्तै पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयमा पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासचिव चन्दले बताए । 

जिल्लाभरिका निर्माण व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धिले निर्माणका कामहरू ठप्प भएकाले मूल्य समायोजन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, निर्माण व्यवसायीहरू मर्कामा परेका वेला सरकारले कालोसूचीमा राख्ने, धरपकड गर्ने कार्यको पनि विरोध गरेका छन् । 

पहिलो चरणमा जेठ ४ गतेसम्म विभिन्न सरकारी कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय भएको महासचिव चन्दले बताए । 

हाल सञ्चालनमा रहेका निर्माण कार्यहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था रहेकाले बैक ग्यारेन्टी, बिमालगायतको म्याद थप गर्नुपर्ने, क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दोनलमा उत्रिएको निर्माण व्यवसायी भुवन भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update