बैतडी–जिल्ला प्रशासन कार्यालय बैतडीले लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई लागू औषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कक्षा दिने गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।
जिल्लाको दशरथचन्द, पाटन र पुर्चौंडी नगरपालिकाका विभिन्न विद्यालयहरुमा पुगेर लागू औषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
पछिल्लो समयमा किशोरावस्थाका मानिस समेत लागू औषध दुर्व्यसनमा फसेकाले उनीहरुलाई लागू औषधका कारण जीवनमा पर्ने प्रभावका बिषयमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
युवापुस्तामा बढ्दो दुव्र्यसनको जोखिमलाई मध्यनजर गर्दै विद्यालय, समुदाय र स्थानीय तहसँग सहकार्य गरेर सचेतना कार्यक्रम सञ्चालन भइरहेको प्रशासनले जनाएको छ ।
अभियानअन्तर्गत लागू औषधको असर, कानुनी व्यवस्था, स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव तथा समाजमा सिर्जना हुने समस्याबारे जानकारी दिइँदै आएको छ । प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक तथा सामाजिक संघसंस्थाको सहभागितामा सचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् ।
प्रशासनले अभिभावक, शिक्षक र युवालाई दुव्र्यसनविरुद्ध एकजुट हुन आग्रह गर्दै लागू औषध नियन्त्रणमा सामुदायिक सहकार्य आवश्यक रहेको बताएको छ ।





