बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मदिराको कारोबार गर्न नपाइने भएको छ ।
मदिराको जथाभावी विक्रि वितरण भइरहेको र यसले समाजमा विभिन्न घटनाहरु भइरहेको जनगुनासो आएपछि गाउँपालिकाले मदिरा कारोबारको समय तोकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गाउँपालिकाको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ अनुसार गाउँपालिका क्षेत्रभित्र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मदिराको विक्रि वितरणमा रोक लगाएको अध्यक्ष साउँदले बताए ।
यस्तै मदिराको कारोबार गर्ने व्यवसायीले अनिवार्य रुपमा इजाजत पत्र लिनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाको सूचना उल्लंघ गर्दै कसैले तोकेको समयभन्दा बाहिर मदिराको कारोबार गरेमा, बिना इजाजत मदिराको कारोबार गरेमा कानुन अनुसार कारवाही हुने गाउँपालिकाले जनाएको छ ।
अवैध र जथाभावी मदिराको कारोबारले समाजमा विभिन्न आपराधिक घटनाहरु भइरहेकाले त्यस्ता घटनाहरु रोकथामका लागि पालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष साउँदले बताए ।





