बैतडी –बैतडीका तीन विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दशरचन्द नगरपालिका–४ को नागार्जुन आधारभूत विद्यालय, वीरेन्द्र माध्यमिक विद्यालय र दशथचन्द आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई उक्त सहयोग गरिएको हो ।
उनीहरूलाई अमेरिका बस्ने ओम आचार्य तथा अस्ट्रेलिया बस्ने हरि साउदले कापी, झोला र पोसाक पठाएर वितरण गरेका हुन् । वीरेन्द्र माविको छात्रावासमा बस्ने आमा–बुबा गुमाएका १९ जनालाई विद्यालय पोसाक वितरण गरिएको स्थानीय मोहित भण्डारीले बताए ।
त्यस्तै नागार्जुन आबिका ४० जनालाई कापी वितरण गरिएको छ भने दशरथचन्द आविका २१ जनालाई झोला वितरण गरिएको भण्डारीले बताए । दलित, विपन्न तथा आमाबुबा गुमाएका विद्यार्थीको पढाइमा सहयोग गर्न र उत्प्रेरणाका लागि उक्त सहयोग जुटाएर वितरण गरिएको कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्टले जानकारी दिए ।
कपडा बैंकले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगमा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ । शैक्षिक सामग्रीको अभावमा बालबालिकाहरु पठनपाठनबाट वञ्चित नहोउन भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गर्ने गरिएको भट्टले बताए ।
विपन्न वर्गका छात्रछात्रालाई गरिएको सहयोगले उनीहरुको शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने वीरेन्द्र माविका प्रधानाध्यापक हर्क चन्दले बताए ।





