बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाका एक वृद्ध व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–६ निवासी ६७ बर्षीय प्रेम बोहरा रहेका छन् । उनी जेठ २ गते शनिबारदेखि बेपत्ता रहेका पारिवारिक श्रोतले जनाएको छ ।
बोहरा गएको शनिबार दिउँसो ४ बजेतिर सौनगाउँ निवासी ऐनबहादुर बोहरालाई ५० हजार रुपैयाँ सावाँ र १० हजार रुपैयाँ ब्याज गरी जम्मा ६० हजार रुपैयाँ बुझाउन घरबाट निस्किएका थिए । उनले उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाइसकेको बेपत्ता बोहराका भतिज रतनपति बोहराले बताए ।
ऋण बुझाएर फर्किने क्रममा आधा बाटोसम्म स्थानीयवासीले देखेको भए पनि त्यसपछि उनी घर नपुगेको आफन्तले बताएका छन् । घटनापछि परिवारले खोजी कार्य जारी राखेको छ ।
बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको भएपनि अहिलेसम्म फेला नपरेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । बेपत्ता बोहरालाई कसैले देखे, भेटेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ ।
बेपत्ता बोहरा चारदिन सम्म फेला नपरेपछि परिवारमा चिन्ता थपिएको छ ।





