बैतडी –गाउँमा खानेपानी पुगेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका–१ को पालडी र लेकगाउँका स्थानीयबासिन्दा खुशी भएका छन् ।
बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयहरुको घर–आँगनमै खानेपानीका धारामा पानी आउन थालेपछि उनीहरु खुशी भएका हुन् । तीन घण्टको पैदल दुरीबाट खानेपानीकोे जोहो गर्दै आएका स्थानीयहरु अचेल निकै खुशी देखिएका छन् ।
यी दुई गाउँको बस्तीमा पानीको मूल नजिक नहुँदा ३ घण्टा उकालो र ओरालो हिँडेर जर्किनमा पानी ल्याउनुपर्ने बाध्यता थियो । उनीहरू झरीको पानी प्लास्टिकको ड्रम, पोखरीमा जम्मा गरेर पनि पानीको जोहो गरिरहन्थे ।
फिनल्यान्ड÷युरोपियन युनियनको ८० लाख ३९ हजार ६ सय ५७ र पञ्चेश्वर गाउँपालिकाको ३६ लाख १४ हजार ५ सय ३१, नेपाल सरकारको १४ लाख ४५ हजार ८ सय १२ गरी १ करोड ३१ लाख रुपैयाँमा करिब २ हजार १ सय ४९ मिटर टाढाबाट पाइपमार्फत पानी ल्याएको पताललेक पालडी धुरा सोलार लिफ्ट खानेपानी योजनाका अध्यक्ष गोरख सार्कीले बताए ।
बस्तीमा अहिले १ सय २ धारा जडान गरिएका छन् । धारामा चौबीसै घण्टा पानी आउँदा घर आँगनमै स्थानीयले पानी भर्न पाएका छन् । गाउँमा खानेपानी आएपछि दुखका दिन सकिएको जस्तो अनुभव भएको स्थानीय भाना सार्कीले बताइन् ।
पानीको अभावमा स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भइरहेका बेला खानेपानी पुगेपछि निकै सहज भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । स्वास्थ्यचौकीमा बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यताको अब अन्त्य भएको उनले सुनाए ।
पालडी र लेकगाउँमा ९८ घरधुरी, एक विद्यालय, एक स्वास्थ्यचौकी, सहकारी र वडा कार्यालय छन् । खानेपानी आयोजनाले स्थानीयलाई धेरै सुविधा पु¥याएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । पानीको मूल नभएर पालडी, लेक गाउँमा खानेपानी व्यवस्थापन गर्न गाह्रो भएको र लिफ्ट खानेपानीले गर्दा सहज भएको उनको भनाइ छ ।
अहिले प्रत्येक स्थानीयको आँगनमा खानेपानीको धारा पुगेको छ । प्रत्येक धारामा मिटर जडान गरिएको छ । गाउँपालिकाका अन्य धेरै ठाउँमा पानीका मूल सुकेर समस्या आएको र पानीका नयाँ मूल खोजेर योजना मर्मतसँगै नयाँ योजना निर्माण चरणमा रहेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् ।
पालडी र लेकगाउँमा खानेपानी पुगेपछि योजना उद्दघाटनका दिन स्थानीयहरुले बाजागाजा बजाइ खुसीयाली मनाएका थिए ।





