Sagun Khabar
मणिलेक मावि गुरुखोेलाको विव्यस अध्यक्षमा चन्द्रबहादुर टेर चयन 
फाइल फोटो

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मणिलेक माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चन्द्रबहादुर टेर चयन भएका छन् । 

मंगलबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले चारजना सदस्य चयन गरेको र ती सदस्यहरुमध्येबाट आज चन्द्रबहादुर टेरलाई अध्यक्षमा चयन गरिएको विद्यालयका प्रधानाध्यापक धिरबहादुर मडैले बताए । 

सात सदस्यीय उक्त समितिमा लक्ष्मीप्रसाद भट्ट, कल्पना भण्डारी र कमला लुहार सदस्यमा चयन भएका छन् । यस्तै वडा प्रतिनिधिको रुपमा माया पहरी, शिक्षक प्रतिनिधिको रुपमा भवानीसिंह बिष्ट र सदस्य सचिवमा प्रधानाध्यापक मडै रहेका छन् । 

शिक्षा ऐनमा गरिएको संशोधन अनुसार विद्यालय व्यवस्थापन समिति पुनगर्ठन गरिएको हो । यसअघि शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न आग्रह गरेको थियो । 

शिक्षा ऐनको ऐनको दफा १२ उपदफा १ को खण्ड (ग)मा भएको व्यवस्था झिकिएकाले सोही अनुसार समिति पुनर्गठन गरिएको प्रधानाध्यापक मडैले बताए । 

बैतडीमा ५ सय ९ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि प्रत्येक विद्यालयमा विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था शिक्षा ऐनमा उल्लेख गरिएको छ ।

धेरै जसो विद्यालयहरुले शिक्षा ऐनमा भएको संशोधन अनुसार विद्यालय व्यवस्थापन समिति पुनगर्ठन गरिरहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update