बैतडी–बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरी स्वास्थ्यचौकीमा निशुल्क प्रजनन स्वासथ्य शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालयको आयोजना र सिगास गाउँपालिकाको समन्वयमा यही जेठ १० गते शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।
शिविरमा चिकित्सकद्वारा बिरामीको चेकजाँच, निदान, उपचार र प्रेषण सेवा उपलब्ध हुने बताइएको छ । यस्तै पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ, गर्भवती महिलाहरुको चेकजाँच र अल्ट्रासाउण्ड सेवा, पाठेघर खस्ने समस्याको पहिचान र व्यवस्थापन सेवा, परिवार योजनाको लामो अवधिका अस्थायी साधन, यौन रोग र स्त्रीरोग सम्बन्धी चिकित्सकीय सेवा र निशुल्क औषधी वितरण सेवा शिविरमा उपलब्ध हुने भट्टले बताए ।
स्थानीयस्तरका महिलाहरुलाई उनीहरुकै गाउँठाउँका स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
यसअघि पनि स्वास्थ्य कार्यालयले विभिन्न ठाउँमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।





