Sagun Khabar
एसईई : बैतडीमा १० विद्यालयका शतप्रतिशत परीक्षार्थी उत्तीर्ण 

बैतडी–बैतडीमा एसईईमा सहभागी भएका मध्ये १० ओटा विद्यालयका शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गएको वैशाख २८ गते प्रकाशन गरेको एसईईको नतिजा अनुसार जिल्लाका ७ ओटा सामुदायिक र ३ ओटा संस्थागत विद्यालयहरुले शतप्रतिशत नतिजा निकालेका हुन् । 

सामुदायिक विद्यालयतर्फ बेताल मावि गोरङ, आदर्श मावि सेल्तडा, रौलेश्वर मावि कालागाउँ, रौलेश्वर मावि मल्लाढीक, कफलाशैनी मावि पूजरीगाउँ, डिलाशैनी मावि खेतगाउँ र महादेव मावि त्रिकालीका सबै विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । 

यस्तै संस्थागत विद्यालयतर्फ निङ्गलाशैनी बोर्डिङ स्कुल देहीमाण्डौं, नेश्नल ब्राइटर एकेडेमी गोठलापानी र एमजेसी एकेडेमी गोठलापानीले शत प्रतिशत नतिजा प्राप्त गरेका छन् । 

यस्तै यो बर्षको एसईईमा ५ ओटा विद्यालयको नतिजा शून्य आएको छ । शिवस्थली मावि जर्ग, गुरुकुल मावि सेरा, टाक तिलकपुर मावि बन्ना र न्वाली मावि दोलीका कुनै पनि विद्यार्थी एसईईमा उत्तीर्ण हुन सकेका छैनन् । यस्तै विरेन्द्र मावि शाहीलेकमा खुल्लातर्फ परीक्षामा सहभागी भएका विद्यार्थीहरु पनि उत्तीर्ण नभएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले बताए । 

यो बर्षको एसईईमा सहभागी भएकामध्ये बैतडीमा ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ३ हजार ९ सय ३० जना परीक्षार्थीमध्ये २ हजार २० जना उत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ९ सय १० जना ननग्रेड भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update