बैतडी– सामाजिक सञ्जालमार्फत अश्लील तस्बिर सार्वजनिक गरेर चरित्र हत्या गरेको आरोपमा एक महिला र एक पुरुष गरी दुई जना पक्राउ परेका छन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ गिरेगडाका २२ बर्षीय सुनिल चन्द र सोही ठाउँकी कमला चन्दलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
पञ्चेश्वर गाउँपालिका–४ की एक महिलाले अश्लील तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको भन्दै प्रहरीमा निवेदन दिएपछि दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
पक्राउ परेका दुवैजनामाथि विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।
महिलाको अश्लील तस्बिर तथा भिडियो सामाजिक सञ्जाल म्यासेन्जर र व्हाट्सएपमार्फत सार्वजजिक गरेर चरित्र हत्या गरेको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।





