Sagun Khabar
लापसे गरेर सार्वजनिक सवारी साधन चलाउने दुई जना पक्राउ 

बैतडी–बैतडीमा लागू पदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला अस्पताल बैतडीको प्रयोगशालाकर्मीसहित संयुक्त रुपमा खटिएको टोलीले शुक्रबार शाहीलेकबाट दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

सार्वजनिक सवारी साधन चलाइरहेकाहरुको चेकजाँच गर्ने क्रममा दुईजनाले लागू पदार्थ सेवन गरेर सवारी साधन चलाएको पुष्टि भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा से १ ज १२७ नम्बरको जिपका चालक दशरथचन्द नगरपालिका–९ का ५७ बर्षीय पदमराज जोशी र से १ ज ३७३ नम्बरको जिपका चालक दोगडाकेदार गाउँपालिका–२ का २८ बर्षीय नरेन्द्रबहादुर कुँवर रहेका छन् । 

पक्राउ परेका दुवैजनामाथि लागू पदार्थ सेवन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मापसे तथा लापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको जनाएको छ । मापसे तथा लापसे गरेर सवारी साधन नचलाउन प्रहरीले सबैमा आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update