Sagun Khabar
बैतडीसहित सुदूर पहाडमा मकै छर्ने चटारो 

बैतडी–बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका किसानहरु मकै छर्ने कार्यमा व्यस्त रहेका छन् । यो बर्ष समयमै बर्षा भएका कारण किसानहरु मकै छर्ने कार्यमा रहेका छन् । 

खास गरेर जेठ दोश्रो सातादेखि मकै छर्ने कार्यमा किसानहरु बढी व्यस्त हुने गरेका छन् । यद्यपि पहाडी क्षेत्रहरुमा वैशाख अन्तिम सातादेखि नै मकै छर्ने कार्य शुरु गर्ने गरिएको छ । मकै छर्ने कार्यमा किसानहरु व्यस्त भएपछि हलगोरु जोत्दै उनीहरुको दैनिक बित्न थालेको छ । 

खेतहरुमा हिजोआज ‘हाहा, ल्योल्यो, ड्यु बा ड्यु’जस्ता आवाजहरु गुञ्जिरहेका छन् । मध्यपहाडी क्षेत्रहरुमा मकैलाई मुख्य खाद्यबालीको रुपमा लिने गरिन्छ । मकैसँगै किसानहरुले भटमास, मास,गहत लगायतका दालबाली समेत छर्ने गरेको  किसानहरुले बताएका छन् । 

पछिल्लो समयमा हल गोरुको सट्टा हाते ट्याक्टरले मकै छर्ने किसानहरुको संख्या समेत बढ्दै गएको छ । आधुनिक कृषि उपकरणहरुमा किसानहरुको पहुँच बढेसँगै हाते ट्याक्टरले मकै छर्ने किसानहरुको संख्या बढ्दै गएको दशरथचन्द नगरपालिका–१ का किसान कृष्णदत्त भट्टले बताए । 

पहाडी क्षेत्रको मुख्य खाद्यबाली मकै भएकाले किसानहरुले मकै खेतीमा निकै ध्यान दिने गरेका छन् । बैतडीलाई मकैको पकेट क्षेत्र समेत मानिएको छ । 

नेपालमा खेती गरिने प्रमुख बालीमध्ये मकै दोस्रो स्थानमा पर्दछ । बैतडीमा रामपुर कम्पोजिट, अरुण–१, अरुण–२, मनकामना–१, २ र ३, एफोन हाइब्रिड तथा बैतडी लोकल सेतो जातका मकै बढी लगाइन्छन् ।  जिल्लाको हावापानी र माटो मकै उत्पादनका लागि उपयुक्त भएकाले परम्परागत रूपमा यहाँ मकैखेती हुँदै आएको कृषि प्राविधिकहरूले बताएका छन् । 

बैतडीमा साढे १० हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । कतिपय ठाउँमा मकैबालीमा वन्यजन्तुहरुले क्षति पुर्याउने भएकाले किसानहरु अहिलेदेखि चिन्तित बन्न थालेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update