Sagun Khabar
सम्पादक अवस्थीसहित पाँच जना पत्रकार सम्मानित 

बैतडी –नेपाल पत्रकार महासंघ बैतडी शाखाले सगुन खबर डटकमका सम्पादक एवं रेडियो निङ्गलाशैनीका स्टेशन म्यानेजर भगीरथ अवस्थीसहित पाँच जना पत्रकारलाई सम्मानित गरेको छ । 

शाखाको १५ औं बार्षिक साधारण सभाको अवसरमा अवस्थीसहित लक्ष्मीदत्त पाण्डेय, गोकर्ण दयाल, लोकेश साउद र कृष्णबहादुर बिष्टलाई सम्मानित गरेको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका अग्रज पत्रकार र बिषम परिस्थितीमा समेत पत्रकारितालाई निरन्तरता दिइरहेका पत्रकारहरुलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरीदत्त बडूले बताए ।

उनीहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरिएको बडूले बताए । पत्रकारिता पेशामा आवद्ध क्रियाशील पत्रकारहरुलाई थप हौसला प्रदान गर्न सम्मान गरिएको अध्यक्ष बडूले बताए । 

यसैबीच नेपाल पत्रकार महासंघ बैतडी शाखाको १५ औं बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । शाखाका अध्यक्ष नरीदत्त बडूको अध्यक्षतामा भएको साधारण सभाको उद्दघाटन सत्रमा दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए । 

बार्षिक साधारण सभामा जिल्ला न्यायधिश तीर्थराज भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्दप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट बिशिष्ट अतिथी रहेका थिए । 

बार्षिक साधारण सभाले सरकारले पछिल्लो समयमा निजी सञ्चार माध्यमहरुलाई विज्ञापन नदिने निर्णय गरेकोमा विरोध गर्दै खेद प्रस्ताव पारित गरेको छ । 

यस्तै जिल्लामा सञ्चालित मिडियाहरुको विकास र सञ्चालनमा सहयोग पुर्याउन स्थानीय तहहरुलाई स्थानीय सञ्चार माध्यम प्रवद्र्धन कार्यविधि पास गराउन आग्रह गर्ने निर्णय गरेको छ । 

यस्तै जिल्लाका कार्यालयहरुले जिल्लाकै सञ्चार माध्यमहरुलाई विज्ञापन उपलब्ध गराउनुपर्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समन्वयकारी भूमिका निर्वाहका लागि आग्रह गर्ने निर्णय समेत साधारण सभाले पारित गरेको अध्यक्ष बडूले बताए । 

बार्षिक साधारण सभामा सहसचिव केशव भट्टले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष करुणाकर भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update