बैतडी –बैतडीको मेलौली नगरपालिका–९ का वडाध्यक्षविरुद्ध वडा सदस्यले आमरण अनसन शुरु गरेका छन् । नगरपालिकादेखि वडा नम्बर ९ जोड्ने निर्माणाधीन सडकको काममा वडाध्यक्ष लोकराज भट्ट लगायतले अवरोध गरेको आरोप लगाउँदै वडा सदस्य जनकराज भट्ट अनसन बसेका हुन् । उनीसँगै पूर्व वडा सदस्य भीमदत्त भट्ट पनि अनसनमा सहभागी छन् ।
सडक डिभिजन कार्यालय पाटनबाट निर्माण भइरहेको तिनजोर्ना–हरडाखान हुँदै वडा नम्बर ९ को कार्यालय तथा विशालपुर स्वास्थ्य चौकी जोड्ने सडकमा अवरोध भएपछि अनसन बस्नुपरेको पूर्व वडा सदस्य भीमदत्त भट्टले बताए । अनसनरत दुबै जना मेलौली नगरपालिकाको मूलढोका नजिकै ब्यानर टाँगेर बसेका छन् ।
सोमबार नगरपालिकालाई सडकसम्बन्धी समस्या लिखित रूपमा जानकारी गराएर अनसन शुरु गरिएको वडा सदस्य जनकराज भट्टले जानकारी दिए । सडक निर्माणमा भएको अवरोध नहट्दासम्म अनसन नतोड्ने उनको अडान छ । उनले ‘हामीले पानीसमेत नखाई अनसन शुरु गरेका छौं । हाम्रो माग भने सडक निर्माण कार्य सुचारु होस् भन्ने हो । सडक निर्माण कार्य सुचारु नभए थप आन्दोलनका कार्यक्रम गर्छौं ।’
उता वडाध्यक्ष लोकराज भट्टले भने सडक चौडा पार्दा पहिरोको जोखिम बढ्ने र बस्ती नै जोखिममा पर्न सक्ने देखिएकाले वन उपभोक्ता समिति तथा स्थानीयवासीबाट विरोध भएको दाबी गरेका छन् । वडा कार्यालयसम्म ७ किलोमिटर सडक स्तरोन्नती गर्नुपर्ने ठाउँमा सडक डिभिजन कार्यालयले ३ किलोमिटरमै काम सीमित गर्न खोज्दा विवाद बढेको उनको भनाइ छ । अध्यक्ष भट्टले आफूले नभई सामुदायिक वनले वातावरणीय जोखिम हुने भन्दै वातावरणीय अध्ययन प्रतिवेदन बिना सडक निर्माण गर्न नदिने निर्णय गरेको जानकारी दिए ।
सबै पक्षबीच समन्वय गरेर ७ किलोमिटर सडक स्तरोन्नतीको काम सम्पन्न गरिए विवाद समाधान हुने वडाध्यक्ष भट्टको तर्क छ । करिब तीन करोड रुपैयाँ लागतमा स्तरोन्नती भइरहेको उक्त सडकको आधाभन्दा बढी काम सम्पन्न भइसकेको जनाइएको छ ।





