Sagun Khabar
सञ्चालनमा आएन् बैतडीको ट्रमा सेन्टर 

बैतडी –बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन् । पाटन नगरपालिका–८ सिद्धेश्वर स्वास्थ्यचौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो । 

दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सञ्चालनमा ढिलाइ हुँदा दुर्घटनामा तत्काल उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

बैतडीको खोड्पे आसपासका क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । ट्रमा सेन्टर सञ्चालनमा आउन नसक्दा विपद् र दुर्घटनामा घाइते भएकाको उपचारमा समस्या भइरहेको सिँगास गाउँपालिका–१ का जगदीश ऐरले बताए । 

पाटन नगरपालिकाको रु १० लाख र सङ्घीय सरकारको रु ५० लाख लागतमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको थियो ।  भवन र केही उपकरण उपलब्ध भएपनि आवश्यक थप उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । 

भवनसँगै स्पाइनल ब्याकबोर्ड, एइडी उपकरण, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर, थप १५ शय्यालगायत सामग्री राखिएको छ । अन्य थप उपकरण र जनशक्तिको व्यवस्थापन नहुँदा समस्या भएको उनले बताए । एक्सरे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफनर्स र हेल्थ असिस्टेन्टको व्यवस्था भए यो सेन्टर तत्काल सञ्चालन गर्न सकिने महराको भनाइ छ । 

आर्थिक वर्ष २०७७÷७८ मा भवन निर्माण सम्पन्न भएको थियो । तत्काल आवश्यक उपकरण व्यवस्थापन गरी ट्रमा सेन्टर सञ्चालनको माग गर्दै प्रदेश र सङ्घीय सरकारलाई पटकपटक जानकारी गराउँदै आए पनि हालसम्म कुनै सुनुवाई नभएको पाटन–८ का वडाध्यक्ष हरिश बिष्टले बताए । ट्रमा सेन्टर सञ्चालनका लागि संघ र प्रदेश सरकारले ध्यान नदिएको उनको गुनासो छ ।

दशरथचन्द राजमार्ग, महाकाली र जयपृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन खोड्पे भएर गुड्ने जनाउँदै उनले यो क्षेत्र जोखिमपूर्ण रहेको । यहाँ बर्षेनी सवारीसाधन दुर्घटना हुने तथा समयमा उपचार सेवा नपाउँदा घाइतेले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष बिष्टले बताए । 

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update