बैतडी–बैतडीमा घर भत्किँदा गर्भवतीसहित एकै घरका तीन जना घाइते भएका छन् ।
जिल्लाको मेलौली नगरपालिका–१ सिराडका सुने पार्कीको दुई तले चारकोठे घरको मुख्य जुवा भाचिन गई बीचको तला भत्किँदा उनका दुई छोरी र एक बुहारी घाइते भएका हुन् । सोमबार बिहान चार बजे उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए ।
घर भत्किँदा सुने पार्कीकी १८ बर्षीया छोरी मनिष पार्की र १३ बर्षीया चाँदनी पार्कीका साथै २२ बर्षीया बुहारी प्रिया पार्की घाइते भएका छन् । प्रिया आठ महिनाको गर्भवती समेत रहेकी बताइएको छ । प्रियाको ढाडमा चोट रहेको भने मनिषाको कम्मर र चाँदनीको घुँडामा चोट रहेको प्रहरीले जनाएको छ ।
घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । यस्तै गोठमा बाँधेका दुई बाख्रा पनि घाइते भएका छन् ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





