Sagun Khabar
मानसखण्ड साहित्यिक मञ्चको बार्षिकोत्सव : मानसखण्ड दर्पण लोकार्पण 

बैतडी –मानसखण्ड साहित्यिक मञ्च, पुर्चौंडीको तेश्रो बार्षिकोत्सव विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न भएको छ । 

भानु जयन्तीको अवसर पारेर सोमबार साहित्यिक मञ्चको तेश्रो बार्षिकोत्सव सम्पन्न गरिएको मञ्चका उपाध्यक्ष दिनेश नागरीले बताए । बार्षिकोत्सवको अवसरमा मानसखण्ड दर्पण नामक पुस्तक लोकार्पण गरिएको छ । 

मञ्चले प्रकाशन गरेको उक्त पुस्तकमा पुर्चौंडी क्षेत्रका विभिन्न धार्मिक,सांस्कृतिक, सामाजिक सम्पदाहरु समेटिएका छन् । धार्मिक स्थलहरु, सांस्कृतिक सम्पदाहरु, स्थानीय संस्कृतिका बिषयमा पुस्तकमा समेटेको उपाध्यक्ष नागरीले बताए । 

यस्तै मञ्चले माविस्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ । ‘संस्कार र संस्कृतिको पहिचान, बालबालिकाहरुको अभियान’ शीर्षकमा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा पुर्चौंडी नगरपालिकाभित्रका १० ओटा विद्यालयहरुको सहभागिता रहेको थियो । 

प्रतियोगितामा डिलेश्वरी माविकी अञ्जना भण्डारी प्रथम, गलेश्वर मावि विजयपुरकी दीपा महरा द्वितीय र विणेश्वर मावि नकालीकी पूर्णिमा पन्त तृतीय भएकी छन् । उनीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको नागरीले बताए । 

यस्तै मानसखण्ड साहित्यिक मञ्चले बार्षिकोत्सवको अवसरमा तीन जनालाई सम्मान गरेको छ । सामाजिक, सांस्कृतिक र साहित्यक क्षेत्रमा योगदान पुर्याएको भन्दै पूर्व सांसद नरेन्द्रबहादुर बम, निवर्तमान नगर प्रमुख रणबहादुर कुँवर र स्थानीय समाजसेवी धनबहादुर बोहरालाई सम्मान गरिएको हो । उनीहरुलाई प्रमाणपत्र, दोसल्लासहित सम्मान गरिएको मानसखण्ड साहित्यक मञ्चले जनाएको छ । 

स्थानीय कला, संस्कृतिक, साहित्यको संरक्षण र सम्वद्र्धनका लागि २०८० सालमा स्थापना भएको मञ्चले आगामी तीन बर्षका लागि पुरानै कार्यसमितिलाई निरन्तरता दिने निर्णय समेत गरेको उपाध्यक्ष नागरीले बताए । मञ्चको १३ सदस्यीय समितिलाई आगामी कार्यकालका लागि निरन्तरता दिएको हो । 

मञ्चका अध्यक्ष गगनसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख दीपकबहादुर बम, पूर्व सांसद नरेन्द्रबहादुर बम, पूर्व मेयर रणबहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update