Sagun Khabar
पहिरो प्रभावित परिवारलाई रेडक्रसद्वारा गैरखाद्य सामग्री वितरण 

बैतडी–बैतडीमा पहिरो प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले गैरखाद्य सामग्री वितरण गरेको छ । 

गएको शनिबार दशरथचन्द नगरपालिका–४ खहरे पीपल नजिक पहिरो खस्दा स्थानीय दानीराम तिरुवाको घर भत्किएको थियो । पहिरोले घरमा क्षति पुगेपछि दानीरामको परिवार सुरक्षित स्थानमा सारिएको थियो । 

पहिरोका कारण घरबारविहिन भएका तिरुवाको परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले राहतस्वरुप विभिन्न सामग्री वितरण गरेको रेडक्रसकी स्वयंसेवक कुन्ती भट्टले बताइन् ।  

रेडक्रस बैतडीका उपकोषाध्यक्ष सुदर्शन लेखकले तिरुवाकै घरमा पुगेर सोमबार गैरखाद्य सामग्री वितरण गरेका हुन् । पहिरो प्रभावित परिवारलाई सहज होस भनेर भाँडाकुँडा, त्रिपाल, कम्बल, बाल्टीन लगायतका गैरखाद्य सामग्री वितरण गरिएको लेखकले बताए । 

पहिरोबाट तिरुवाको परिवार समस्यामा परेकाले थप सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार लगायत अन्य सरोकारवालाहरुसँग समन्वय गरिने रेडक्रस बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update