Sagun Khabar
बैतडीको सुर्नयामा चिया खेतीको शुरुवात  

बैतडी –बैतडीको सुर्नयामा चिया खेतीको शुरुवात गरिएको छ । 

गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ का उच्च क्षेत्रमा चिया खेतीका लागि सम्भाव्यता अध्ययनपछि अर्थोडक्स चियाका बिरुवा रोपण गरिएको हो । 

आज एक कार्यक्रमकाबीच सुर्नया गाउँपालिका वडा नं ६ को ठूलीखाली भन्ने स्थानमा सिगास मावि मुसे रौटेको १४ रोपनी जमीनमा चियाका बोट रोप्ने कार्यको उद्दघाटन गरिएको सुर्नया चिया कफी तथा कृषि पर्यटन विकास समूहका सदस्य धर्मानन्द अवस्थीले बताए ।

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, विभिन्न वडाका वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा चियाका बोट रोपण कार्य शुरु गरिएको छ । 

गाउँपालिकाको सहयोग र नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको समन्वयमा गएको मंसिरमा सुर्नयामा चिया खेतीको सम्भाव्यता अध्ययन गरिएको थियो । उक्त अध्ययनकै आधारमा चिया खेतीको शुरुवात गरिएको सुर्नया चिया कफी तथा कृषि पर्यटन विकास समूहका संयोजक कृष्ण बिष्टले बताए । 

पहिलो चरणको नुवाकोटबाट २२ हजार चियाका बोट खरीद गरेर ल्याएको उनले बताए । यी बोटहरु सुर्नया गाउँपालिका वडा नं ५ को बन्दीपुर, वडा नं ६ को ठूलीखाली, वडा नं ७ को छिडा र वडा नं ८ को दोरामा रोपण गरिने उनले बताए । 

सिगास मावि मुसे रौटेको जमीनमा चियाको परीक्षण नमूना प्लट  बनाउने उद्देश्य रहेकाले २२ हजार बोटमध्ये बढी उक्त नर्सरीमा नै रोपण गरिने सदस्य अवस्थीले बताए । 

गाउँपालिकाले गत आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको र सोही अनुसार चार वडाका उच्च क्षेत्रमा चिया खेती परीक्षणको शुरु गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

गाउँपालिकाको विभिन्न ठाउँमा पहिलो चरणमा २८१ हेक्टर जमीनमा चिया खेती गरिने बताइएको छ । चियाखेतीबाट सुर्नयाका ७ सय परिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । 

पहिलो चरणमा परीक्षणको रुपमा चिया खेतीको शुरुवात गरिएको र यो सफल भएमा गाउँपालिकाका अन्य स्थानहरुमा समेत चिया खेती विस्तार गर्ने योजना रहेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update