Sagun Khabar
चाडपर्वमा पहाडी रुटमा मनपरी भाडा र ओभरलोडिङ: यात्रु मर्कामा

बैतडी – दसैँ–तिहार मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै सुदूरपश्चिमका पहाडी रुटहरूमा मनपरी भाडा असुली र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तीव्र बनेको छ ।

ठूला बस पर्याप्त नचल्ने र कच्ची तथा साँघुरा सडकमा साना जिप तथा हाइसमा निर्भर हुनुपर्ने बाध्यताको फाइदा उठाउँदै यातायात व्यवसायीहरूले दोब्बरसम्म भाडा असुल्ने गरेको यात्रुहरूको गुनासो छ । विशेष गरी बैतडी, बझाङ र दार्चुला लगायतका पहाडी जिल्ला जोड्ने प्रमुख सडकखण्डहरूमा यात्रुहरू चर्को मारमा परेका छन् ।

दसैँमा घर पुग्नैपर्ने बाध्यताको फाइदा उठाउँदै बिचौलिया र व्यवसायीले आफूखुसी भाडा दर तोक्दा यात्रुहरू अतिरिक्त आर्थिक भार खेप्न बाध्य छन् । साविकमा ६ सय रुपैयाँ लाग्ने यात्राका लागि अहिले ९ सय रुपैयाँ मागिएको बैतडीकी सीता महराले गुनासो गर्नुभयो । यस्तै, मेलौलीकी हीरा भुलसँग आठ सय रुपैयाँको सट्टा १४ सय रुपैयाँसम्म भाडा असुल गरिएको छ ।

विकल्प नहुँदा यात्रुहरू मागेजति भाडा तिर्न बाध्य त छन् नै, त्यसबाहेक क्षमताभन्दा बढी यात्रु खाँदेर राखिँदा यात्रा निकै असहज र जोखिमपूर्ण बनेको छ । दार्चुलाको महाकाली नगरपालिका जान लागेका यात्रु शंकर जोशीका अनुसार गन्तव्यमा पुग्ने हतारोमा मानिसहरू ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष भोजराज जोशीले यात्रुको बाध्यतालाई अवसरका रूपमा प्रयोग गरी बढी भाडा असुल्ने र ओभरलोडिङ गर्ने प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

यता महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका कार्यसमिति सदस्य देवराज जोशीले चाडपर्वलाई लक्षित गरी थप सवारीसाधन परिचालन गरिएको दाबी गर्नुभयो । समिति मातहतका चालकले बढी भाडा लिए कारबाही गरिने र समितिबाहिरका सवारीसाधन नियन्त्रणका लागि ट्राफिक प्रहरीको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले सबै सवारीसाधनमा तोकिएको भाडादर स्पष्ट देखिने गरी टाँस्नुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले चाडपर्वमा यात्रुलाई सहजीकरण गर्न प्रदेशका विभिन्न ३९ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको जानकारी दिनुभयो । क्षमताभन्दा बढी यात्रु बोकेको पाइए जरिवाना गर्ने र बढी भाडा लिएको गुनासो आएमा तत्काल रकम फिर्ता गराउने काम भइरहेको उहाँले बताउनुभयो । यात्राका क्रममा कुनै समस्या परेमा ट्राफिक प्रहरीको टोल–फ्री नम्बर १०२ मा फोन गरेर जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

पहाडी सडकको नाजुक अवस्था र चाडपर्वको चापका बिच हुने यस्ता मनपरी रोक्न र सुरक्षित यात्रा सुनिश्चित गर्न बैतडीसहित सुदूरपश्चिमका स्थानीय प्रशासन र ट्राफिक प्रहरीले कडा अनुगमन गर्नुपर्ने माग सर्वसाधारणले गरेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३  ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update