बैतडी–बैतडीको मेलौली भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा मेलौली नगरपालिकामा दुई दिन बिदा हुने भएको छ ।
मेलौली भगवती मन्दिरमा लाग्ने देहीजातको अवसरमा यही मंसिर ७ र ८ गते नगरपालिका मातहत सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले उल्लेख गरेको छ ।
मेलौली भगवतीको जात्रामा स्थानीयहरुको सहभागितालाई दृष्टिगत गर्दैै नगरपालिकाले हरेक बर्ष बिदा दिँदै आएको छ । मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।
यस्तै जात्रालाई व्यवस्थित र मार्यादित बनाउन दुई दिन मदिराको विक्रिवितरण र सेवनमा रोक लगाइएको छ । मेलौली नगरपालिकाले एक सूचना जारी गर्दै मन्दिर आसपासका क्षेत्रमा मंसिर ७ र ८ गते मदिराको कारोबार गर्न नपाइने उल्लेख गरेको छ ।
मेलालाई शान्त,सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ बमोजीम मेला अवधिभर मदिराको कारोबार र सेवनमा रोक लगाइएको मेलौली नगरपालिकाले जनाएको छ ।
कसैले सूचनाको उल्लंघन गरेमा कानुन अनुसार कारवाही हुने नगरपालिकाले जनाएको छ ।




