Sagun Khabar
बर्षौंदेखि डुंगाको जोखिमपूर्ण यात्रा, भारतले महाकालीमा पुल बनाउन सहमति दिँदैन  

बैतडी –जिल्लाको शिवनाथ गाउँपालिकाका महामलसिंह साउँद ५४ बर्षका भईसके । सानो उमेरदेखि नै महाकाली नदीमा उनले डुंगाकै साहारले वारपार गरे । उनले भने ‘म यताउता जान थालेदेखि महाकालीमा डुंगाबाटै वारपार गरे । अहिले बल्ल सडक पुगेको छ । यो भन्दा पहिला दैनिक उपभोग्य सामग्रीका लागि पनि भारतकै भर पर्नुपथ्र्यो । अहिले पनि धेरै नागरिक दैनिक उपभोग्य सामग्री लगायत अन्य कामका लागि भारत जाने गर्छौं ।’

बुधबार मात्रै डुंगामा चढेर भारत तर्फ गईरहेका १० जना मध्ये डुंगा दुर्घटनामा परेर सहोदर दीदीभाई मध्ये दीदीको मृत्यु भएको छ भने भाई बेपत्ता भएका छन् । महाकाली नदीमा पुल नहुँदा डुंगाको जोखिमपूर्ण यात्रा गर्दा सो दुर्घटना भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने ‘दशैंको पूजाका लागि आएको एक परिवार भारततिर गईरहेको थियो । पुल नहुँदा डुंगाबाटै महाकाली तर्दा डुंगा पल्टेर दुखद घटना भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

महाकाली नदीमाथि झोलुंगे पुल नहुँदा डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता तल्लोसोराडबासीले बर्षौंदेखि भोग्दै आएका छन् । तल्लोसोराडमा आधा दर्जन  बढी घाटबाट डुंगामार्फत वारपार गर्ने गरिएको छ । स्थानीय षष्ठी तिवारीले भने ‘हामी सीमा क्षेत्रका बासिन्दाहरुको पारी इष्टमित्रहरु पनि छन् । व्यापारिक प्रयोजनका सामग्री पनि बढी जसो पारीबाटै ल्याउने गरेका छौं । तर पुल नहुँदा हरेक समय  कष्ट झेल्नुपरीरहेको छ । नेपालतिर पनि कच्ची सडक भएकाले बर्षातमा बन्द हुन्छ । त्यसपछि डुंगाको जोखिमपूर्ण यात्रा गर्नुको विकल्प हामीसंग छैन् ।’

मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका अधिकांश नागरिक अझै पनि विभिन्न कामका सीमावर्ती भारतीय बजार चम्पावत जाने गर्दछन् । भारत जाँदा उनीहरुले डुंगाबाटै महाकाली नदी वारपार गर्नुपर्ने बाध्यता छ । महाकाली नदीमा झोलुंगे पुल नहुँदा तल्लोसोराडबासीलाई धेरै समस्या भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने ‘अहिले पनि हामी विभिन्न कामका लागि सीमावर्ती भारतीय बजारमा जाने गर्दछौं । तर महाकाली नदी वारपार गर्न हामीले डुंगाकै सहायता लिनुपर्दछ । उर्लदो महाकालीमा डुंगाको यात्रा निकै कहालीलाग्दो हुन्छ ।’ 

सरकारले २०७४ सालमा पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुंग पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको भएपनि भारतले सहमति नदिँदा पुल निर्माण हुन सकेन् । अहिले सो ठेक्का समेत रद्द भईसकेको छ । ‘एक बर्षसम्म पुल निर्माणको कामले गति नै लिएन् । के रहेछ भनेर काठमाण्डौंमा बुझ्दा भारत सरकारले पुल निर्माणका लागि अनुमति नदिएको रहेछ ।’पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डुबान क्षेत्रमा पुल सर्भे गरिएको रहेछ । त्यसैले भारतले सहमति नदिएको रहेछ । सर्भे गरिएको भन्दा ५०० मिटर तलतिर सर्भे गरेर पुल निर्माणका लागि आग्रह गरेका थियौं । तर अहिले सम्म केही हुन सकेको छैन् ।’

महाकाली नदीमा झोलुंगे पुल नहुँदा नागरिकले भोग्नुपरेको सास्तीका बिषयमा परराष्ट्र मन्त्रालयमा समेत जानकारी गराएपनि केही पहल नभएको अध्यक्ष चन्दले बताए । उनले भने ‘मैले आँफै पनि परराष्ट्र मन्त्रालयमा गएर कुरा गरेको छु । तर सीमा नदीमा भारतले पुल बनाउने सहमति दिँदैन । यसले गर्दा हामीले विभिन्न दुर्घटनाको शिकार बन्नु परेको छ ।’

तल्लोसोराडमा कुस्मौदघाट, बलाराघाट, ढोयाघाट, पञ्चेश्वरघाट,डिम्बरघाट,नागार्जुन घाट,रोलघाट  लगायतका आधा दर्जन बढी घाटहरुमा डुंगाबाट महाकाली नदी वारपार गर्ने गरिन्छ । महाकाली नदीमा पुल नभएकै कारण स्थानीयहरुले जोखिम मोलेर आवतजावत गर्ने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

स्थानीय तहहरुले कोभीडको बन्दाबन्दीसंगै घाटहरुमा डुंगा सञ्चालनमा प्रतिबन्ध लगाएको भएपनि स्थानीयहरुले अरु विकल्प नहुँदा महाकाली नदी तर्न डुंगाकै प्रयोग गरिरहेका छन् । यसले बेलाबेला दुखद घटना निम्त्याउने गरेको अध्यक्ष साउँदले बताए । उनले भने ‘पुल निर्माणका लागि भारतले सहमति दिँदैन । हामीले पुल नभएकै कारण यस्ता दुखद घटनाहरुको सामना गर्नुपरीरहेको छ ।’
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update