Sagun Khabar
दशरथचन्द नगरपालिकाले आइसोलेसन सेन्टर बनाउने 

बैतडीको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको छ । विरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

 जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकमा यो निर्णय भएको उनले बताए । उनले भने ‘अहिले भारतबाट फर्केका नागरिकमा कोरोना देखिन थालेको छ । उनीहरुलाई कम्तीमा पनि १० दिन आइसोलेसनमा राख्नुपर्ने हुन्छ । त्यसका लागि नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको उनले बताए । 

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिक मध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ । 

कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update