Sagun Khabar
संस्कृति बोध गराउन संस्कृति ज्ञान परीक्षा सञ्चालन 

काठमाण्डौं –संस्कृति बोध गराउनका लागि हिन्दू स्वयंसेवक संघ नेपालले सञ्चालन गरेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडीखेलमा परीक्षाको आयोजना गरिएको हो । 

बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौंका विद्यालयहरूबाट पाँच हजार विद्यार्थी सहभागी रहेका थिए । तीमध्ये ६७ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अङ्क प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको बताइएको छ। 

स्वास्थ्य सन्देश
Atrya hospital

सो परीक्षमा नेपाल वेदविद्याश्रम विद्यालयका कक्षा १० का छात्र विजयी तिमल्सिना प्रथम भएका थिए । उनले ५१ हजार १११ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । 

काठमाडौंकै ब्राइट होराइजन विद्यालयमा कक्षा ८ मा अध्ययनरत दालकु शेर्पाले दोस्रो स्थान हात पारिन् । उनले २५ हजार १ सय ११ नगदसहित प्रमाण पत्र प्राप्त गरेकी छन् । 

भक्तपुरको विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुस्मिता चौलागाइँ तेस्रो बन्न सफल भइन्  । उनले १५ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण पत्र प्राप्त गरिन् । सान्त्वना अन्तर्गत ५० जनालाई प्रमाणपत्रसहित प्रति व्यक्ति एक हजार एक सय एघार नगद पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथि रहेका थिए । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशिक आशावरी उदय बापट एवं वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित विशिष्ट अतिथिका रूपमा रहेका थिए । 

संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको यो कार्यक्रमलाई संघले पुनः निरन्तरता दिएको हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update