Sagun Khabar
भदौ २१ गते गौरा मनाउने मालिकार्जुन विकास समितिको निर्णय 

दार्चुला –सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा भदौ २१ गते नै मनाउने मालिकार्जुन विकास समितिले निर्णय गरेको छ । समितिको सहजीकरणमा दार्चुलास्थित मालिकार्जुन धाममा सोमबार भएको ज्योतिषहरुको भेलाले भदौ १८ गते बिरुडापञ्चमी र भदौ २१ गते अठ्यावाली अर्थात दुर्वाष्टमी मनाउने निष्कर्ष निकालेका हुन् । 

गौरापर्व भदौ ७ कि २१ गते भन्ने व्यापक बहस भइरहेका बेला मालिकार्जुन धाममा भएको ज्योतिषहरुको भेलाले भदौ २१ गते नै गौराको उपयुक्त तिथी भएको निष्कर्ष निकालेको ज्योतिष इन्द्रदेव जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

उक्त भेलामा भदौ ७ र २१ गते दुवै दिनको पक्षमा ज्योतिषहरुले खुलेर बहस गरेका थिए । भेलामा डिल्लीराज जोशी लगायतका केही ज्योतिषहरुले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार भदौ ७ गते नै गौरा हुने तर्क राखेका भएपनि गौरा एकादशी ब्रत उपासना नगरिकनै दुबधागो लगाउने परम्परा नभएको भन्दै भदौ २१ गते नै उपयुक्त तिथी भएको निष्कर्ष निकालिएको हो । 

दुबधागो लगाउने मानस नारीहरुले गौरा एकादशी ब्रत लिएर मात्रै दुबधागो लगाउने परम्परा रही आएको ज्योतिषहरुले भेलामा बताएका थिए । 

शास्त्रीय मान्यता, परम्परा, लोकाचार र कुलाचार अनुसार भदौ १८ गते बिरुडापञ्चमी, १९ गते नानीगोरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते अठ्यावाली अर्थात दुर्वाष्टमी परेको ज्योतिष हरिदत्त जोशीले बताए ।

भाद्र शुक्ल पक्षमा दुर्वाष्टमी नपरेको समयमा रोहणी नक्षत्र भएको भाद्र कृष्णाष्टमीमा गौराको पूजन गर्नुपर्ने शास्त्रीय मान्यता रहेकाले भदौ २१ गते गौरा मनाउने निर्णय भएको बताइएको छ । 

मालिकार्जुन धाममा भएको भेलाले सुदूरपश्चिमका सबै जिल्लाहरुमा भाद्र २१ गते नै गौरा मनाउन पनि आग्रह गरेका छन् । गौरापर्व भाद्र शुक्ल या कृष्ण पक्षमा मात्रै पर्ने भएकाले कुनै द्विविधा नराखी भाद्र २१ गते गौरा मनाउन आग्रह गरिएको हो । 

अहिले गौराका बिषयमा ज्योतिषहरु दुई भागमा विभक्त भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौराको तिथी तय गरेकाले कतिपय ठाउँमा सोही दिन गौरा मनाउने तयारी भएको छ भने कतिपय ठाउँमा ७ गते उपयुक्त तिथी नभएको भन्दै २१ गते गौरा मनाउने तयारी भएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update