Sagun Khabar
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

बझाङ –भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेका छन् । भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् । 

सरकारका तर्फबाट १४ बुँदे घोषणा जारी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने बताए । यस्तै प्रभावितहरुका लागि त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रधानमन्त्री दाहालले भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ भन्नेबारे छिट्टै यकिन गरिने र त्यस आधारमा सामान्य मर्मत सम्भार, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने अवस्थाको तथ्यांक संकलन गरिने बताए । 

प्रधानमन्त्री दाहालले भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको प्रबन्ध गर्ने घोषणा समेत गरेका छन् । त्यस्तै, भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनःर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माण अगाडि बढाइने प्रधानमन्त्री दाहालको घोषणा छ ।

प्रधानमन्त्री दाहालले सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल लगायत क्षति पुगेका संरचनाहरूको क्षति मापन गरी यथाशीघ्र पुनः निर्माण गर्ने बताए । 

नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने दाबी गरेका छन् । उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर यस्तो बताएका हुन् । 

प्रधानमन्त्रीसँगै रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद र प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी पनि बझाङ पुगेका थिए । 

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update