Sagun Khabar
बैतडीको झौलेक र सलेनमा ‘दुत्त्या मेला’

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका –१ झौलेक र मेलौली नगरपालिका –२ सलेनामा ‘दुत्त्या मेला’सम्पन्न भएको छ । यी दुवै ठाउँमा हरेक बर्ष मंसिर शुक्ल द्वितीयाका दिन मेला लाग्ने गर्दछ । 

सलेनामा हुने मेलामा पोटलासैनी भगवती मन्दिरमा पूजाआजा समेत हुने गरेको स्थानीय हर्षबहादुर चन्दले बताए । यो मेला खेतको बीचमा हुने भएकाले तिहारको समयमा धानखेती मासिने भएपछि मंसिर शुक्ल पक्षको द्वितीया तिथीमा मनाउने गरिएको किम्वदन्ती रही आएको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

भगवतीसंगै दिन मागेर मंसिर शुक्ल पक्षको दिन ‘दुत्त्या मेला’ मनाउने प्रचलन रही आएको चन्दले बताए । 

यो मेलामा तलकुले र मलकुले भनेर दुईठाउँमा देउरो आउने र दुवै देउरो एकठाउँमा मिसिएर भकुण्डो खेल्ने चलन रही आएको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए । तर पछिल्लो समयमा भकुण्डो खेल्ने चलन भने लोप हुँदै गएको छ । 

यो मेलामा आफन्तहरुसंग भेटघाट गर्ने, भैलो खेल्ने, देउडा खेल्ने चलन रही आएको छ । 

यस्तै दशरथचन्द नगरपालिका १ स्थित झौलेकमा पनि आजै ‘दुत्त्या मेला’ सम्पन्न भएको छ । परापूर्वकालदेखि यो ठाउँमा मंसिर शुक्ल द्वितीयाका दिन मेला लाग्ने गरेको स्थानीय जानकारहरुले बताएका छन् । 

छडिलिङ्ग मन्दिरमा जात्रा लैजाने र पूजाआजा गर्ने चलन समेत रही आएको छ । यस्तै मेलामा भैलो खेल्ने चलन समेत रही आएको स्थानीयहरुले बताएका छन् । 

झौलेकलाई देवता र दैत्यको युद्ध भएको ठाउँको रुपमा समेत लिने गरिएको छ । खोपरे दैत्य र देवताबीच झौलेकमै लडाँइ भएको र खोपरे पराजित भएको किम्वदन्ती रही आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update