Sagun Khabar
सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार

काठमाण्डौ – सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको कार्यदलको बैठकले कार्यविधिको अन्तिम खाका तयार पारेको हो । यो कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । ‘चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ’, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भने । 

स्वास्थ्य सन्देश
Atrya hospital

कार्यविधिलाई अन्तिम रूप दिन कार्यदलको आज बिहानैदेखि बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् । 

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी यो प्रतिवेदन सार्वजनिक गर्ने सदस्य सचिव जोशीले जानकारी दिए । न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ । 

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update