Sagun Khabar
आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै

काठमाण्डौ –  आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन् ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरि मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरि तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरि एक छाक मात्र खाएर चोखोनीतो गरि बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गइ गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् ।

स्नानपछि जौ, तिल र कुश ऋषिहरुलाई तर्पण गरि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरि आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरमा रहेको अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाण्डौ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरि सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्त्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । यस्तै, जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका डाक्टर शेषराज आचार्य बताउनुहु्न्छ । जनैपूर्णिमाको अवसरमा आज देशभर नै सार्वजनिक बिदा दिइएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update