
बझाङ –बझाङको एक गारमेन्ट उद्योगमा आगलागी हुँदा १ करोड ५० लाख बराबरको क्षति भएको छ ।
जिल्लाको केदारस्यूँ गाउँपालिका –४ बागथला डडियामा रहेको हुनैनाथ गारमेन्ट उद्योगमा गएराति आगलागी भएको हो ।
मंगलबार राति पौने १ बजेतिर विद्युत तार सर्ट भइ गारमेन्ट उद्योगमा आगलागी भएको हो । आगलागीबाट उद्योग पूर्ण रुपमा नष्ट भएको सञ्चालक पुष्पराज भट्टले बताए । स्थानीयबासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइएको थियो ।
९ जना काम गर्ने उद्योग आगलागीबाट ध्वस्त भएको छ । २०७२ सालदेखि सञ्चालनमा आएको गारमेन्ट उद्योगमा आगलागी हुँदा सम्पूर्ण संरचना र सामग्री जलेर नष्ट भएका छन् ।
यसैबीच आगलागी भएको गारमेन्ट उद्योग केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहरा नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ । उपाध्यक्ष मनिषा धामी, प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट समेत सहभागी रहेको टोली आगलागी भएको ठाउँमा निरीक्षण गरेको हो ।
उद्योग निरीक्षणपछि अध्यक्ष बोहराले आगलागी पीडितलाई राहत उपलब्ध गराउनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिने बताएका छन् । जिल्लाकै नमूना गारमेन्ट उद्योगमा आगलागीबाट क्षति भएकाले उद्योग पुनः सञ्चालनका लागि सबै सरोकारवाला निकायहरुसंग सहकार्य गरिने अध्यक्ष बोहराले बताए ।
तत्काल पीडित परिवारलाई पालिकाकातर्फबाट राहत उपलब्ध गराइने उनले बताए ।