
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेमा द्याँची गौराको अवसरमा आयोजना गरिएको देउडा कार्यक्रममा कलाकारहरुलाई नगदसहित सम्मान गरिएको छ ।
शुक्रबार र शनिबार आयोजना गरिएको देउडा कार्यक्रममा सहभागी देउडीयाहरुलाई सम्मान गरिएको गौरा व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर बोहराले बताए ।
देउडा कार्यक्रममा गंगा खत्री, भुपेन्द्रप्रसाद पन्त, कृष्ण रतोकी, कमला साउँद, तिखुरे बोहरा, प्रकाशबहादुर बोहरा, मानबहादुर बोहरा, मगिराम लुहार, अर्जुन आँशु र तारासिंह बोहरा लगायतका देउडीयाहरुको सहभागिता रहेको थियो ।
उनीहरुलाई नगदसहित सम्मा गरिएको गौरा व्यवस्थापन समिति ढोलेले जनाएको छ । स्थानीय संस्कृतिको संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ । स्थानीयहरुको सहयोगमा देउडा कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बोहराले बताए ।
देउडा कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बैतडी र बझाङका केही स्थानमा असोज शुक्ल पञ्चमीका दिन द्याँची गौरा मनाउने प्रचलन रहेको छ ।
भदौ महिनामा मनाइने गौरालाई लोली गौरा भनिन्छ भने असोजमा मनाइने गौरालाई ललिता गौरा भन्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार मुरलीधर अवस्थीले बताए ।