Sagun Khabar
बैतडी : कांग्रेसको दशरथचन्द नगर सभापतिमा रावल र भट्टको दाबी 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा वडा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशनको तयारी भईरहेको छ । अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको कांग्रेसमा पालिकामा भने चुनाव हुने सम्भावना बढ्दै गएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकाको नगरसभापतिमा गजेन्द्र रावल र भुवनराज भट्टले दाबी प्रस्तुत गरेका छन् । दुवै जनाले आफूहरु नगरसभापतिका लागि योग्य उम्मेद्वार भएको बताएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगर सभापतिमा सहमतिमै नेतृत्व चयन हुने सम्भावना कम भएको कांग्रेसका नेताहरुले बताएका छन् । १२ औं महाधिवेशनबाट नगरसभापति र १३ औं महाधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा पद सम्हालीसकेका रावलले फेरी नगरसभापतिमै दोहरिने इच्छा व्यक्त गरेका छन् । 

दशरथचन्द नगरपालिका वडा नं ६ का वडा अध्यक्ष समेत रहेका रावलले पार्टीको संगठनलाई बलियो बनाउन आफूले नगरसभापतिमा दाबी गरेको बताए । उनले भने ‘पार्टीलाई चुस्त दुरुस्त बनाउन मेरो उम्मेद्वारी हो । पार्टी संगठनलाई क्रियाशील बनाउन नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’

यता कांग्रेसको युवा नेताको रुपमा उदय भएका भुवनराज भट्टले कांग्रेससमा युवाहरुको आकर्षण बढाउन आफूले नगरसभापतिमा दाबी गरेको बताए । दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष समेत रहेका भट्टले नेपाली कांग्रेसलाई बलियो बनाउन नगर सभापतिमा आफ्ना दाबी रहेको दाबी गरे । उनले भने ‘कांग्रेसका युवाहरुको आकर्षण बढाउन मैले उम्मेद्वारी घोषणा गरेको हुँ । युवा साथीहरुको साथले नगरसभापति हुने कुरामा ढुक्क छु । बलियो कांग्रेस बनाउन मेरो उम्मेद्वारी हो ।’

रावलले संस्थापन पक्षबाट आफ्नो उम्मेद्वारी रहेको दाबी गरिरहेका बेला भट्टले भने आफू साँझा उम्मेद्वार रहेको प्रतिक्रिया दिए । 

यद्यपि कांग्रेसमा संस्थापन र पौडेल समूहले आ आफ्ना उम्मेद्वारहरुलाई अगाडि सारेको बताइएको छ । भदौ २७ गते हुने पालिका अधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकामा सहमतिमा नेतृत्व चयन हुने सम्भावना कम रहेको बताइएको छ । दुवै जनाले बलियो कांग्रेस बनाउन आफूहरुको उम्मेद्वारी रहेको दाबी गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update