प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा इलाका प्रशासन कार्यालय पुर्चौंडीको अनुगमन

बैतडी–बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले इलाका प्रशासन कार्यालय पुर्चौंडीको अनुगमन गरेकी छन् । 

इलाका प्रशासन कार्यालयले प्रदान गरिरहेको सेवा, सेवाग्राहीको गुनासो लगायतका बिषयमा जानकारी लिनका लागि इलाका प्रशासन कार्यालयको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

अनुगमनका क्रममा इलाका प्रशासन कार्यालयले प्रदान गरिरहेको सेवा सन्तोषजनक पाइएको उनले बताइन् । 

इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, नाबालिग परिचय प्रदान गर्ने काम भइरहेका छन् । 

२०७३ सालदेखि बैतडीको पुर्चौंडीमा इलाका प्रशासन कार्यालयले सेवा दिँदै आएको छ । पुर्चौंडी नगरपालिका–१ हाटमा कार्यालय स्थापना भएर सेवा दिइरहेको छ । 

पुर्चौंडीको हाटमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि यहाँका नागरिकलाई नागरिकता बनाउनैका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

जिल्लाको पुर्चौंडी र मेलौलीमा इलाका प्रशासन कार्यालयमार्फत सेवा प्रदान भइरहेको छ । मेलौलीमा गएको वैशाखदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको हो । 

पुर्चौंडीको हाटमा रहेको इलाका प्रशासन कार्यालयले पुर्चौंडी नगरपालिकाका नागरिकलाई सेवा दिइरहेको छ । यस्तै मेलौलीमा रहेको इलाका प्रशासन कार्यालयले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update