Sagun Khabar
एमाले अवरोधकाबीच प्रतिनिधि सभा बैठक अघि बढ्यो, आर्थिक अध्यादेश स्वीकृत

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाको बैठक अगाडि बढेको छ । बैठकमा बहुमतले आर्थिक अध्यादेश स्वीकृत भएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले पेस गरेको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

आजको पहिलो बैठक एमाले सांसदको नाराबाजीका कारण १५ मिनेट स्थगित भएपछि दोस्रो बैठक बसेको थियो । एमाले सांसदहरूले अर्थ मन्त्रीको बाटो छेक्न खोजेपछि उनी दौडिएर रोस्टममा पुगेका थिए ।  पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध र नाराबाजी गर्दै आएको छ । 

सरकारले आजको संसद् बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको थियो । अस्ति बुधवार नै बजेट अध्यादेश संसदमा पेस गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन ।

अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरू हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरूको भनाइ छ । प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालु बजेटको निकासा रोकिएको छ ।

प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ । संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update