दार्चुला –दार्चुला गइरहेकी बैतडीकी एक महिलाको बसभित्रै मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका–९ की अन्दाजी ४५ बर्षीया जानकी चन्द बसभित्रै एक्कासी बेहोस भएकी र अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक विक्रमबहादुर शाहीले बताए ।
महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको महाकाली यातायातको ना ८ ख ३०१ नम्बरको बसमा चन्द खोड्पेबाट दार्चुलाको दुहुँ जानका लागि चढेकी थिइन् । दार्चुलाको दुहुँ गाउँपालिका वडा –२ हिकिला उनको माइतीघर रहेको बताइएको छ ।
बसमा सवार चन्द एक्कासी बेहोस भएपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए । दार्चुलाको शैल्यशिखर नगरपालिकाको ग्वानी पुग्दा चन्दलाई उठाउन खोज्दा नउठेपछि प्रहरीले नै अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहीले बताए ।
माइतीघर दुहुँ गाउँपालिकाको हिकिलामा आफ्नी भदैको विवाहमा विवाहमा जान लागेकी जानकीको विचबाटोमै मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




