Sagun Khabar
बैतडीमा १० दलका उम्मेदवारलाई टक्कर दिँदै एक्ला स्वतन्त्र उम्मेदवार पन्त 

बैतडी — आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बैतडीमा १० दलका उम्मेदवारहरुलाई एक्ला स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले टक्कर दिइरहेका छन् । 

दश दलका उम्मेदवार आफ्ना कार्यकर्तासहित घरदैलो अभियानमा सरीक भएका छन् भने पन्तले प्रचार गर्ने शैली फरक तरीकाले गरिरहेका छन् । 

दलीय राजनीतिबाट मतदाता वाक्कदिक्क भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको पन्तको दाबी छ । आफूले प्रचारप्रसारका लागि घरदैलो नगर्ने तर आफ्ना एजेण्डा विभिन्न माध्यमबाट नागरिक समक्ष पुर्याइरहेको उनले बताए । 

लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध भएर राजनीतिक गरेका पन्तले दलहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । आफ्ना मुद्दाहरु स्थापित गर्न उम्मेदवारी दिएको पन्तको भनाइ छ । 

स्वतन्त्र उम्मेदवार पन्तले नेकपा (एमाले) बाट पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, नेपाली कांग्रेसबाट नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष एवं कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व जिल्ला सभापति प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेयसँग पनि उनको प्रतिसपर्धा रहेको छ ।

९ बुँदे सन्देशसहित आफू चुनावी मैदानमा रहेको पन्तले बताए । जनताका माग बोकेर निर्वाचनमा गए सबैको जित हुने उनले दाबी गरे । 

पन्तले समाजसेवा वा राजनीतिमा सक्रिय तर आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई उम्मेदवार बन्न साहस र प्रेरणा मिलोस् भन्ने उद्देश्यले आफू चुनावी मैदानमा उत्रेको उनको भनाइ छ । 

‘लामो समयसम्म पार्टीको सदस्य भएर बृहत्तर समाजसेवा गर्ने आंकक्षाका साथ काम गर्दा जनताको काम गर्न सकेन,’ उनले भने, ‘फेरि पनि स्वतन्त्र भएर जनताको अवाज बुलन्द गर्ने ठाउँमा पुग्न उम्मेदवारी दिएको हुँ ।’ बैतडीका जनताका जनजीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवाको सुधार गर्नका लागि आफूले आवाज बुलन्द गर्नुपर्ने ठाउँमा पुग्नुपर्ने उनले बताए ।

दलका उम्मेदवारप्रति बढ्दो नागरिक असन्तुष्टिका बीच आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्न आफूले उम्मेदवारी दिएको पन्तको दाबी छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update