Sagun Khabar
होली खेलेर विद्यालयमा आर्थिक संकलन, शिक्षकहरुको तलबमा खर्च गरिने 

बैतडी–बैतडीमा विभिन्न विद्यालय, क्लब, आमा समूहलगायतले सामूहिक रुपमा होली खेलेर आर्थिक संकलन गरेका छन् । 

विद्यालयमा निजीस्रोतबाट भर्ना गरिएका शिक्षकको तलब र अन्य खर्च व्यवस्थापनको लागि हरेक वर्ष विद्यालयबाट गाउँगाउँमा गएर होली खेल्ने गरेको पाटन नगरपालिका –९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका प्रधानाध्यपक प्रकाश महराले बताए ।

विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी मिलेर हरेक बर्ष होली खेल्दै आएको प्रधानाध्यापक महराले बताए । यो बर्ष होली खेलेर ६५ हजार रुपैयाँ संकलन गरिएको उनले बताए । उक्त रकम विद्यालयका शिक्षकहरुको तलबमा खर्च गरिने बताइएको छ । सिद्धेश्वर माविमा पाँच जना निजी श्रोतका शिक्षक कार्यरत रहेका छन् । 

संस्कृति संरक्षणका साथै विद्यालयमा शिक्षकको तलबको जोहो गर्न विभिन्न विद्यालयहरुले होली खेल्ने गरेको विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राजु भट्टले बताइन् । अधिकांश विद्यालय निजी श्रोतमा सञ्चालन भएकाले होली लगायतका कार्यक्रमबाट रकम संकलन गर्ने गरिएको उनले बताइन् । 

यस्तै दोगडाकेदार गाउँपालिका–२ स्थित रौलेश्वर मावि कफलकोटले होली खेलेर १ लाख ६ सय रुपैयाँ संकलन गरिएको छ । उक्त रकम बालविकास कक्षा सुधार र खेलकुद क्षेत्रको विकासमा खर्च गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टले बताए । 

यस्तै सुर्नया गाउँपालिका–५ स्थित सिद्धनाथ आधारभूत विद्यालयले पनि होली खेलेर रकम संकलन गरेको विद्यालयले जनाएको छ । 

सिगास गाउँपालिका–९ जालहाल्लास्थित हिमालय आमा समूहले होली खेलेर १९ हजार रुपैयाँ संकलन गरेको समूहकी अध्यक्ष दिव्यश्वरी मल्ल चन्दले बताइन् । उक्त रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताइन् । 

यस्तै दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाजले यो बर्ष पनि होली खेलेको समाजका अध्यक्ष भुवन भट्टले बताए । होलीबाट संकलित रकम हरेक बर्ष सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update