बैतडी –बैतडीको पाटन नगरपालिका ६ देखि वडा नं ३ जोड्ने भीटाभीरको बाटो जनसहभागितामा पुनर्निर्माण कार्य शुरु गरिएको छ ।
‘भीटाभीर बाटो पुननिर्माण महाअभियान’ समिति गठन गरेर बाटो मर्मतको काम शुरु गरिएको समितिका सहसंयोजक प्रेमसिंह भाटले जानकारी दिए ।
पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको संयोजकत्वमा गठित उक्त समितिले जनसहभागिता जुटाउँदै बाटो मर्मत गर्ने लक्ष्य राखेको छ । शुक्रबार रामनवमीको अवसर पारेर बाटो पुननिर्माण कार्यको शुरुवात गरिएको सहसंयोजक भाटले बताए ।
भीटाभीरको बाटो पुननिर्माणका लागि तीनै तहका सरकार समक्ष माग गरिएको भएपनि कसैले ध्यान नदिएपछि नागरिकस्तरबाट बाटो मर्मतको काम शुरु गरिएको भाटले बताए ।
बाटो पुननिर्माणका लागि जनश्रमदानका साथै आर्थिक सहयोग समेत गर्न सकिने जनाइएको छ । केही दिनभित्रै समितिको बैठक बसेर नियमित रुपमा बाटो मर्मतको कामलाई अघि बढाउने योजना रहेको भाटले बताए ।
भीटाभीरको बाटो प्रसिद्ध विश्वनाथ वनारसी धाममा पुग्ने बाटो भएकाले पनि यसलाई मर्मत गर्नुपर्ने आवश्यकता थपिएको भाटले बताए । यस्तै पाटन नगरपालिका –३ का विभिन्न ठाउँका नागरिक यसै बाटो भएर आवतजावत गर्ने गर्दछन् । सुर्नया गाउँपालिकाका नागरिक पनि पाटन पुग्नका लागि पैदल मार्गको रुपमा यसै बाटोलाई प्रयोग गर्ने गर्दछन् ।
स्थानीयहरुले दैनिक रुपमा आवतजावत गर्ने यो बाटो साँघुरो हुँदा बर्षेनी लडेर ज्यान जानेको संख्या समेत बढ्दै गएकाले बाटो मर्मतका लागि पहल गरिएको समितिले जनाएको छ ।
बाटो पुननिर्माणमा जनश्रमदानका साथै आर्थिक सहयोग समेत गर्न सकिने जनाइएको छ । साँघुरो भएको ठाउँमा जाली राख्ने लगायतका योजनाहरु रहेको बताइएको छ । चन्दा संकलनबाट प्राप्त रकमले बाटो निर्माणका लागि आवश्यक पर्ने सामग्री सरिया, सिमेन्ट, जाली खरीद गरिनेछ भने मिस्त्रीहरुको खर्च पनि जोहो गर्ने योजना रहेको समितिकी सहसचिव कुन्ती भट्टले बताइन् ।
भीटाभीरको बाटो पुननिर्माण गर्ने सबैको साझा अभियान भएकाले सक्दो सहयोगका लागि अपिल समेत गरिएको छ । बाटो निर्माणका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्न समितिका कोषाध्यक्ष हेमन्ती केसी, सहसचिव कुन्ती भट्ट र सदस्य विरेन्द्रसिंह केसीको संयुक्त नाममा खाता खोलिएको समितिले जनाएको छ ।





